पुस,०३ गुल्मी । गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन परियोजना (सामी) अब सञ्चालन हुने भएको छ । यसअघि नेपाली कांग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।
बिना सूचना स्थानीय तहले परियोजनामा कर्मचारी भर्ना गर्न थालेको भन्दै कांग्रेसको विरोधले कर्मचारी छनौट परीक्षा रोकिएको थियो । विवाद समाधान हुन नसकेपछि नेपाल नगरपालिका महासंघका महासचिव तथा धादिङ जिल्लाको निलकण्ठ्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना गुल्मी आएका थिए ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तथा परियोजना लागू हुने स्थानियतहका प्रमुखहरु लगायत, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागितामा विवाद समाधान गरिएको हो । यस अघि जिल्लाका चारवटा स्थानीयतहमा सञ्चालन हुने परियोजना अब थप दुई स्थानियतहमा पनि लागू गर्न माग गर्ने निर्णय भएसँगै विवाद साम्य भएको हो ।
यो परियोजना रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिकामा थियो । अब गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकाान पनि यो परियोजना सञ्चालन गरिने भएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियन गुल्मीले गरेको पत्रकार सम्मेलनमा नेपाल नगरपालिका महासंघका महासचिव भिम प्रसाद ढुङगानाले कर्मचारी भर्ना र सेवा प्रदायक मार्फत प्राविधिक सहयोग लिएर कार्यक्रम अघि बढाउन सकिने गरि सहमति भएको बताए । रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले सामी परियोजना सञ्चालन गरिने बताए ।







