काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालक कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन् ।
मादक तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।
प्रचलित कानुनले मापसे तथा लापसे गरी सवारीसाधन चलाउन निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायतका कानुनी व्यवस्थाअनुसार नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिँदै आएको छ ।
ट्राफिक प्रहरीले सवारीचालकलाई नियमको पूर्ण पालना गर्न र मादक तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन आग्रह गरेको छ ।





