केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा : ‘प्रधानमन्त्रीको कदम असंवैधानिक’

पुस ,०६ बुटवल । सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गर्नु गलत भएको बताएका छन् । रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार गर्दै बोल्दै पन्थीले प्रधानमन्त्रीको इतिहासकै ठूलो भूल भएको उल्लेख गरे ।

यसैगरी नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताएका छन् । केन्द्रको राजनीतिक समिकरणले प्रदेश सरकारको समिकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कमदप्रति आलोचना समेत गरेका छन् । प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमीकामा समेत गम्भीर संका उत्पन्न भएको उनले बताए ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गरे । प्रधानमन्त्रीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उनले संसद विगठन गर्नु असंवैधानिक भएको बताए । यसैगरी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएको उल्लेख गरे । प्रधानमन्त्रीले तानासाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको दाबी गरे ।