पुस, ६ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको औपचारिक घोषणाको तयारीमा छ । त्यसका लागि कानुनी प्रक्रियाहरु सुरु भएका छन् ।
मंगलबार केपी शर्मा ओलीले बिहान ९ बजे पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।
त्यसैगरी, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल पक्षले पनि मंगलबारै दिउँसो १ बजे पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
बिहान ९ बजेको बैठकबाट ओलीले प्रचण्ड नेपाल पक्षलाई कारबाहीको निर्णय लिने स्रोतको दाबी छ । कारण– सोमबार संसदीय दलको बैठक बसाइयो । प्रचण्ड नेपाल पक्षले सोमबार संसद भवन नयाँ वानेश्वरमा संसदीय दलको बैठक भनेर संसदीय दलको नेता ओलीको उपस्थिति बैनै बैठक राख्यो र ओलीको कदम असंवैधानिक रहेको ठहर गर्यो ।
उता प्रचण्ड–नेपाल पक्षले पनि ओलीलाई थप कारबाहीको तयारी गरेको छ । त्यो थप कारबाही भनेको पार्टी सदस्यबाट निस्कासन हुन सक्ने कतिपय नेताहरुले बताएका छन् ।
यसरी ओली र प्रचण्ड पक्ष एक अर्कालाई कारबाहीको तयारीका साथ केन्द्रीय कमिटीको बैठकको तयारीमा जुटेका छन् ।
हामी निर्वाचन आयोग गइसक्यौं : प्रचण्ड
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफुहरु निर्वाचन आयोग गइसकेको बताएका छन् ।
सोमबार बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’
केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको पनि उनले बताएका छन् ।
केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने उनले बताए ।
‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’
प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले पुस ७ गते १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो । यो बैठकमा स्थायी कमिटीका ४५ मध्ये ३१ सदस्य उपस्थित थिए ।
नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोग पुगेर प्रधानमन्त्री समेत रहेका पार्टी ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी पत्र दर्ता गरेका हुन् ।
‘पार्टी स्थायी कमिटीको हिजोको निर्णय औपचारिक निर्वाचन आयोगलाई जानकारी गराएको छु’ पोखरेलले भने ।
नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले भने एक नम्बर अध्यक्ष भएकाले आफूलाई कसैले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
अब एमाले ब्युँतिन्छ : केपी ओली
संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका ओलीले अब एमाले ब्युँतिने बताएका छन् ।
पार्टी एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने ओलीको विश्लेषण छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्य चिह्नलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिह्न प्रचण्ड समूहले पाउने उनले जनाउ दिए ।
बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरू आ–आफ्नो बाटो लाग्छन् ।’
‘त्यसपछि आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कोही (माधव नेपालहरू) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’
पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ ।
उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिह्न एमालेको भागमा पर्ने रहेको छ ।







