‘नेपालमा सुप्रिमेसी अफ द पार्लामेन्ट हो कि, सुप्रिमेसी अफ द प्राइमिनिस्टर ? के हो ?’

सम्माननीय अध्यक्ष महोदय, आज राष्ट्रिय सभाको यो सातौं बैठकमा हामी भाग लिइराखेका छौं । संविधान अनुसार संगसंगै आज प्रतिनिधि सभाको पनि बैठक हुनुपर्ने थियो । तर, प्रतिनिधि सभा विघटन गराइएको अवस्था छ । र संघीय संसदको एउटा अंग आज मृत्यु शैयामा छ । संविधानको धारा ८३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभा लगायतको एउटा व्यवस्थापिका हुनेछ । त्यसलाई संघीय संसद भनिनेछ भनेर ब्याख्या गरिएको छ । तर, आज हामी राष्ट्रिय सभाको बैठक मात्रै भइराखेको देखिराखेका छौं र यो अवस्था नेपाली राजनीतिको एउटा विशिष्ट अवस्था हो । र नपाली राजनीतिको बिशिष्ट अवस्था मात्रै होइन, यो नेपाली जनताको ठूलो त्याग र तपस्या बलिदान र २००७ साल पश्चात निरन्तर निरन्तर नेपाली जनताले संघर्ष गर्दै आएको जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलनहरुको एकिकृत उपलब्धी हो– संघीय लोकतान्त्रिक गणतन्त्र । यो नै आज धरापमा पर्ने हो कि, समाप्त हुने हो कि भन्ने लक्ष्यणहरु आकासमा मडारिराखेको छ । त्यसकारण हामी सबै जो अग्रगमनको लागि लडेका छौं, सबै चिन्तित अवस्थामा हुनु स्वभाविक हो । सम्माननीय अध्यक्ष महोदय, यो अवस्थाको बारेमा वर्तमान राजनतिक अवस्थाको बारेमा र गत ६ महिनादेखि नेपाल सरकारले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जुन ढङ्गले सरकार सञ्चालन गरेको छ । यो दुइटै परिप्रेक्षमा म नेपाली कांग्रेसको आधिकारिक धारणाहरु यो गरिमामय सदनमा राख्न चाहन्छु ।

‘महाराजका नयाँ लुगा’

मैले आफ्ना कुराहरु, दलका कुराहरु अगाडि बढाइराख्दाखेरि मलाई सन १८३७ को ७ अप्रिलमा एउटा फेरिटे एउटा कथा, डेनिस राइटरको डेनमार्कको लेखकको प्रकाशित भएको थियो । त्यो कथा द एम्पारस् न्यु क्लोथ् (महाराजका नयाँ लुगा) जो मैले दश कक्षामा पढ्ने बेला पढेको थिएँ र यो धेरै माननीय सदस्य ज्युहरुले पढ्नुभयो होला । त्यो अत्यन्त प्रतिकात्मक नेपालको अहिलेको वर्तमान बिशिष्ठ राजनीतिक परिस्थितिलाई त्यो कथाले, त्यो ह्यान्स् क्रिस्टयान एण्डर्सनले लेखेको कथाले अत्यन्त सांकेतिक रुपमा, प्रतिकात्मक रुपमा प्रतिबिम्बन गरिाखेको छ ।

महाराजलाई नयाँ लुगा लगाइदिएर उनका केही अन्धभक्तहरुले बजारमा घुमाइराखेको हुन्छ, घुमाईराखेको हुन्छ, उनका अन्धभक्तहरुले, मैले अन्धभक्तहरुले मात्रै भनिराखेको छु सम्माननीय अध्यक्ष महोदय, म संग यो भन्दा पनि कडा शब्दहरु छन् तर, म परिस्थितिलाई बढी विषाक्त बनाउन चाहन्न । त्यसकारण मैले अन्धभक्त मात्रै प्रयोग गरेको ।

अन्धभक्तहरुले आहा क्या राम्रो लुगा, सम्राटले, महाराजले क्या राम्रो लुगा लगाइराख्नुभएको छ । ह्वाट ब्युटिफुल क्लोथ तर, घुमाउँदा घुमाउँदै एउटा चोक आइपुग्छ त्यहाँ एउटा इनोसेन्ट बच्चाले हेर्दाखेरि सत्य के हो ? त्यो बच्चाले भन्छ – ओहो हाम्रो महाराज त नांगै होइबक्सिन्छ । नांगै होइबक्सिन्छ भनेर त्यो बच्चाले भन्छ । र सत्यलाई त्यो इनोसेन्ट चाइल्डले रहस्य उद्घाटन गर्छ । आजको नेपालको राजनीतिक परिस्थिति एम्पारस् न्यु क्लोथको त्यो न्याकेट त्यो लुगाको अवस्था हो । एकातिर महाराजले मैले जे गरेँ त्यो ठीक गरेँ, मैले प्रतिनिधिसभा विघटन गरेँ, ठीक गरेँ, संवैधनिक गरेँ, प्रतिनिधि सभाको ६४ प्रतिशतको प्रतिनिधि भएको नाताले मैले जे गरेँ एकदम ठीक गरेँ, संवैधानिक गरेँ भनेर भन्दै हुनुहुनुन्छ । तर, पुरा देश यो पुरै असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर भनिराखेको छ ।

संविधानको धारा ७६ को १ देखि १० सम्म हामीले पढ्ने हो …. सम्माननीय राष्ट्रपतिको कार्यालयबाट जुन विज्ञप्ती निस्कियो– धारा ७६ को १ र धारा ८५ लाई आधार बनाएर र अन्र्तराष्ट्रिय केही अभ्यास र प्रचलनको कुरालाई अगाडि सारेर त्यो विज्ञप्तीलाई मिहिन ढङ्गले पक्डने हो भने म यति मात्रै भनौं, म धेरै भन्न चाहन्न किनभने केश अहिले अदालतमा छ । त्यसकारण हाम्रो पार्टीले त्यो भन्दा बढी भन्ने कुरा गर्दैन् । यति जरुर भन्छ, यो संविधानले भन्छ– यसको धारा ७६ को १ देखि १० सम्म दर्जनौंपल्ट हामीले सबैले पढेका छौं । धारा ८५ त असान्दर्भिक छ, असान्दर्भिक धारालाई विज्ञप्तीमा जोडिएको छ । यो असंवैधानिक छ । पुरै असंवैधानिक छ । त्यसले गर्दा देश एउटा बहुत ठूलो राजनीतिक दुर्घटनाको विन्दुमा आइपुगेको छ, के हुने हो ? अन्योल, कुइराको काग जस्तो, त्यो कुइराको काग जस्तो एउटा कालो तुवाँलोभित्र मडारिराखेको दिग्भ्रमित काग उडि त राखेको छ तर, दिग्भ्रमित छ, दिशाहिन छ, उड्दा उड्दै उ थकित हुन्छ, उ झर्छ भुइंमा र मृत्युवरण गर्छ, बाँच्दैन । यो अवस्था देशको अवस्था छ । र यसको मुख्य कारण वर्तमान सरकार हो । यसको मुख्य कारण प्रधनमन्त्री जी हुनुहुन्छ र उहाँको एक्सन प्रतिनिधि सभालाई विघटन गर्नुभयो त्यो काम यसको मुख्य कारक तत्व हो । त्यसकारणले राजनीतिक रुपमा हाम्रो पार्टीले भनेको छ– यो एक्सन प्रतिनिधि सभाको विघटन पुरै असंवैधनिक छ । अलोकतान्त्रिक छ । र केश अदालतमा भएको हुनाले अरु धेरै म प्रवेश गर्न चाहन्न । अब सर्वोच्च अदालतले त्यसको ब्याख्या गर्छ र नेपाली कांग्रेस विधिको शासनमा र स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने पार्टी भएको हुनाले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई मानेर नेपाली कांग्रेस अगाडि जान्छ ।

तर, सम्माननीय अध्यक्ष महोदय, म अहिलेको नयाँ हाम्रो संविधान, यो संविधान बनाउने एउटा व्यक्ति पनि भएको हुनाले, संविधान बनाउने एउटा सहभागि भएको नाताले यो घटनाक्रमको सन्दर्भमा यसका केही राजनतिक पाटोहरुलाई उजागर गर्न चाहन्छु ।

पहिलो कुरा– जतिबेला हामी यो धारा ७६ राख्दै थियौं । प्रधानमन्त्रीले कतिबेला संसद विघटन गर्न सक्छ या गर्नुपर्छ यो सन्र्दभको चर्चा लामो समय संविधान निर्माण गर्ने बेलामा गरेका थियौं । लामो बहस भएको थियो यो विषयमा । किनभने संविधान बनाइराख्दा त्यो भन्दा अगाडि नेपालको राजनीति अस्थिरताको सिकार थियो । सरकार अस्थिरताको सिकार थियो । यहाँ होस्टेलिङहरु हुने गर्दथे, भ्रष्टचारका कुराहरु आएका थिए, आउँदै गर्थे, बारम्बार आउँथे । र राजनीतिक पार्टीहरुको, नेताहरुको, सांसदहरुको, मन्त्रीहरुको बदनाम हुने गर्दथ्यो । त्यसकारण ठूलो च्यालेञ्ज थियो हामी संविधान निर्माण गर्नेहरुको अगाडि, एउटा राजनीतिक स्थिरता दिने, बारम्बार संसद विघटन हुने कुरा, सालैपिच्छे सरकार फेरबदल हुने कुरालाई रोक्नुपर्छ । राजनीतिक यस्तो एउटा स्टक्चर संविधानमा खडा गरौं जसले मुलुकको राजनीतिले एउटा स्थिरता पाओस् भन्ने बिचार हाम्रो अगाडि थियो । त्यो कारणले नै धारा ७६ को १ देखि १० सम्मको व्यवस्था छ, यसमा मेरो चुनौती छ– म एउटा कानुनको पनि विद्यार्थी हुँ । यो दश वटा उपधाराभित्र कहिँ पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यसमा जुन व्यवस्था गरेको छ अन्तिम समयसम्म संसदलाई परीक्षण गर्न दिनुपर्छ । वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने कुरा परीक्षण गर्ने काम संसदले गर्छ । संसदले पाँच चोटी परीक्षण गर्ने मौका यो संविधानले प्रदान गरेको छ । यदि संसद फेल हुन्छ, सरकार बनाउनै सक्दैन भने मात्रै गएर त्यो बिन्दुमा गएर प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको प्रस्ताव लिएर महामहिम राष्ट्रपतिकहा जाने हो । र त्यसपछि प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र निर्वाचन हुने कुरा हो । त्यो भन्दा अगाडि तीन वटा यस्ता घटना भएका थिए संसद विघटनका घटना । त्यसले गर्दा ७६ भित्र १ देखि १० सम्मको व्यवस्था गरेका छौं । यो जो सुकै एउटा ले म्यानले पढ्ने बेलामा पनि त्यो कन्सेप्टलाई राम्रोसंग बुझ्न सक्छ । सम्माननीय महोदय, त्यो राजनीतिक स्थिरताको, किनभने संसद भनेको जनताको सार्वभौम संस्था हो, जनताको प्रतिनिधिहरु बस्ने ठाउँ हो त्यसकारणले यो मर्नु हुँदैन् । जतिबेला पनि यो मर्नुहुँदै, मारिनु हुँदैन । जनताको सार्वभौमसत्तामाथि एउटा कार्यकारीले आक्रमण गर्न पाउँदैन् भन्ने कन्सेप्ट हो यो ।

र त्यति मात्र होइन्, अर्को कुरा भन्न चाहन्छु, आज जरुरी छ, यो देशमा छलफल गर्नुपर्ने, हाम्रो सिस्टम, हाम्रो अहिलेको संसदीय प्रजातन्त्र, यो सुप्रिमेसी अफ द पार्लामेन्ट हो कि, सुप्रिमेसी अफ द प्राइमिनिस्टर हो ? के हो ? यो संविधानले के भन्छ ? म धेरै ब्याख्या गर्न चाहन्न तर, यो संविधानको धारा उपधारा हरेक ठाउँमा पार्लामेन्टको सुप्रिमेसीलाई स्टाबलिस गर्या छ । प्राइमिनिस्टरको सुप्रिमेसी होइन, प्राइमिटिरियल सिस्टम होइन यो । सुप्रिमेसी अफ द प्राइमिनिस्टर होइन, सुप्रिमेसी अफ द प्रार्लामेन्ट हो तयो कन्सेप्टलाई यो संविधानले स्थापित गरेको छ । नम्बर दुई ।

र नम्बर तीन– प्रधानमन्त्री जी आफ्नो, अहिले सुनियो यो भन्दा अगाडि नै एक जना माननीय सदस्यज्यु (दिनानाथ शर्मा)ले, जसलाई म धेरै सम्मान गर्छु, जो मेरो असल मित्र हुनुहुन्छ उहाँले बडो दुखि भएर, मन फुटाएर केही कुराहरु गर्नुभयो, मेरो सहानुभुति छ ।

तर, मेरो एउटा प्रश्न छ, यो मेरो मात्रै प्रश्न होइन, नेपाली जनताको प्रश्न हो, प्रजातन्त्रको प्रश्न हो, हरेक लोकतन्त्रबादीहरुको प्रश्न हो, यो देशमा अग्रगमन चाहने हरेक व्यक्तिहरुको प्रश्न हो– तपाईंलाई पार्टीभित्र समस्या भयो । तपाईंको पार्टीभित्र कसैले तपाईंलाई काम गर्न दिएन । द्याट इज योर पार्टी प्रोब्लम, देशको समस्या होइन त्यो । संसदको समस्या हैन त्यो । देशको समस्या हैन त्यो । कित तपाईं आफ्नो पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्दथ्यो, कि त अल्पमतमा परेपछि राजीनामा दिएर तपाईंले अर्को नेता बनाउन, तपाईंको संसदीय दलले अर्को नेता बनाउन सक्थ्यो । तर, तपाईं पार्टीभित्र समस्यामा पर्ने अनि संसदलाई विघटन गर्ने ? देशलाई एउटा खाल्टोमा जाकिदिने ? दुनियामा यस्तो कुनै पनि एउटा देशघत (देशघात) लोकतन्त्रबादी अग्रगमन चाहने र जनताको प्रतिनिधि कम्युनिस्ट भनेको हामी हौं जनताको प्रतिनिधि भन्ने नेताहरुले दुनियामा कहीा पनि यस्तो काम गर्दैन । गर्दै गर्दैन । तपाइंलाई त्यो अधिकार थिएन, त्यो गर्नलाई । तर, तपाईंले गरिदिनुभयो ।

त्यसकारण यो तीनटा राजनीतिक कन्टेक्स सम्माननीय अध्यक्ष महोदय म नेपाली जनताको लागि यो गरिमामय सदनमा पार्टीको तर्फबट राख्न चाहन्छु ।

समग्रमा हामी सबै चिन्तित छौं । माननीय दिनानाश शर्मा जी मात्रै होइन, अग्रगमनको लागि लडेको सारा राजनीतिक पार्टीहरु र हामी तपाईं सबै व्यक्तिहरु जो अग्रगमनको लागि लड्यो इतिहासमा हामी सबै चिन्तित छौं । हाम्रो देश आज बहुत एउटा अप्ठ्यारोमा परेको छ । बहुत एउटा अप्ठ्यारो अवस्थामा परेको छ । कसरी रेस्क्यु हुन्छ ? रेस्क्यु हुन्छ कि हुँदैन ? त्यसैले आज को मन्त्री बन्ने को नबन्ने ? त्यो चिज आज होइन् ।

म आम राजनीतिक नेता र कार्यक्रताहरुलाई आह्वान गर्न चाहन्छु– आज आफ्नो हित होइन, पार्टीको हित होइन, लोकतन्त्रको लागि, अग्रगमनको लागि, देशभक्तिको लागि, राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको लागि, नेपालको मजबुतिका लागि त्यो हाइटबाट हामीले सोच्नुपरेको छ । यो सरकारले, यो सरकारमा रहेका व्यक्तिहरुले र सत्ताधारी पार्टीले त्यो हाइटबाट नसोचिराखेको हुनाले म दुखि छु । म चिन्तित छु । म व्यक्तिगत रुपमा पनि म नेपालको अग्रगमनको लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको लागि अलिकति, थोरै भएपनि पञ्चायतकालदेखि अहिलेसम्म अलिकति श्रमशक्ति लगाएको हुनाले म स्वमं पनि चिन्तित छु र म जस्तै हजारौं लाखौं करोडौं नेपाली जनता, देशभक्त र अग्रगमनकारी नेपाली जनता चिन्तित छन् ।

सम्माननीय अध्यक्ष महोदय, मध्यावधीको घोषणा भएको छ । म यो भन्न चाहन्छु– एउटा सत्यलाई उजागर गर्न चाहन्छु ।

हामीलाई लागेको थियो कि कहीँ सम्माननीय प्रधानमन्त्री केपी ओलीको सरकार त्यहि दिशामा, नेपाली कांग्रेसले बारम्बार भन्थ्यो यो सरकार अधिनायकवादको दिशामा जना खोजिराखेको छ है । त्यो शक्तिको भोक जागिराखेको छ है यो सरकारको अगुवा नेतालाई शक्तिको भोक । कतिबेलादेखि भन्न सुरु गर्यौं, जतिबेला राष्ट्रिय अनुसन्धान विभाग जो गृहमन्त्रालय अन्तर्गत थियो प्रधानमन्त्री कार्यालयमा लगियो । किन लगियो ? लजिक के थियो, प्रष्टीकरण के थियो त्यसको ? राजश्व अनुसन्धान विभाग, सम्पति सुद्धिकरण विभाग जो अर्थमन्त्रालय अन्तर्गत थियो पिएमओ अफिसमा पर्याइयो, किन पुर्याइयो ? किन ? बुढो मर्यो भन्ने चिन्ता होइन,काल पल्किएको चिन्ता हो । त्यतिबेला नेपाली कांग्रेसले भनेको थियो– कि अहिलेको सम्माननीय प्रधानमन्त्री जीमा शक्ति केन्द्रिकरण गर्ने भोक जागेको छ। कहिँ मुलुक दुर्घटनातिर जान्छ कि भन्ने नेपाली कांग्रेसले बारम्बार भनेको थियो । त्यसकारण यो सरकार र सरकारको अगुवाको यो अधिनायकावदी चिन्तनतिर दौडिने जाने, त्यो प्रविृतिको सन्र्दभलाई अहिलेको विघटनलाई ब्याख्या गर्न सक्नुपर्छ । अनि मात्रै भोलिका दिनमा एउटा सत्य, साच्चिकै एउटा लोकतान्त्रिक प्रधानमन्त्री यो मुलुकमा आउँछ भन्ने कुरा निक्र्योल गर्नं सक्छौं ।

धेरै कुरा म भन्न चाहन्न सम्माननीय अध्यक्ष महोदय, मध्यावधिको कुरा गर्या, कोभिडको अवस्था छ के संभावना छ ? यदि हुन गयो भने सर्वोच्च अदालतले यदि त्यहि फैसला गरिदियो भने, कोभिडको यस्तो स्थिति छ । देशको आर्थिक अवस्था, देशका पुर्व अर्थमन्त्री, यो मञ्चबाट ७ प्रतिशत आर्थिक् बृद्धिदरमा मुलुक जान्छ । मैले च्यालेज्ज गरेको थिएँ, ७ प्रतिशतको आर्थिक् बृद्धि भयो भने म राजनीति छोडिदिन्छु भन्ने मान्छे मै थिएँ । आज उहाँ हुनुहुन्न । देशको आर्थिक अवस्था, विश्व बैंकले, मोलेट्रीफर्मले या हाम्रा राष्ट्र बैंकले या सिबियसले के भनिरहेछ ? जिरो प्रतिशत या ऋणत्मक हुने संभावना छ । यो आर्थिक अवस्था छ । फेरि हामी अवौं रुपैयाँ यो मध्यावधितिर जाने ?

त्यो भन्दा पनि खतरनाक, अत्यन्त खतरनाक यो भन्न चाहन्छु– अहिले हाम्रो देशमा, खास गरेर कम्युनिस्ट पार्टीका नेताहरुलाइ भन्न चाहन्छु– तपाईंहरु बारम्बार देशभक्तिको कुरा गर्नुहुन्छ, तपाईंहरु बारम्बार राष्ट्रियताको कुरा गर्नुहुन्छ, कहिलेकाहीँ नेपाली कांग्रेसलाई आक्रामक ढङ्गले गाली गर्नुहुन्छ, कि कम्युनिस्ट मात्रै देशभक्त, कम्युनिस्ट मात्रै राष्ट्रियता । अहिले दक्षिण र उत्तरको जुन चहलपहल, चलखेल, फास्ट ट्रयाकबाट काठमाडौं ओर्लिने र काठमाडौंबाट निस्कने जुन परिदृष्य देखिएको छ, यसले नेपालको राष्ट्रियतालाई कति बलियो गर्छ ? म चाहन्छु कि नेपालको कम्युनिस्ट पार्टीले, सरकारले र कम्युनिस्ट नेताहरुले यो चलखेलले, उत्तर दक्षिणको चलखेलले, अहिले जे देखिरहेका छौं हामीले त्यसले नेपालको राष्ट्रियतालाई कति बलियो गर्छ ? हाम्रो स्वनिर्णयलाई कति बलियो गर्छ ? यसको जवाफ तपाईंहरुले दिनु पर्छ । मैले जवाफ मागेँ । पार्टीको तर्फबाट जवाफ माग्दैछु, नेपाली कांग्रेसको तर्फबाट । यसरी नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । नेपालको राष्ट्रिय अखण्डता बलियो हुँदैन । जहाँबाट बलियो हुन्छ, इन्क्लुसिभ डेमोक्रेसीबाट बलियो हुन्छ । तराई पहाड र हिमालको एकताबाट बलियो हुन्छ । त्यहाँ तपाईंहरु चुक्नुहुन्छ । कहिले तपाईंहरु इन्क्लुसिभ डेमोक्रेसीको कुरा गर्नुहुन्न सत्ताधारी पार्टीले र सरकारले । कहिल्यै इन्क्लुसिभ डेमोक्रेसीको कुरा गर्नुहुन तपाईंहरु । तर, राष्ट्रियताको कुरा गर्नुहुन्छ । यो परिदृयले राष्ट्रियता बचाउँछ ? यो मेरो प्रश्न राख्न चाहन्छु ।

यो त मैले पोलिटिकल कन्टेस्ट राखेँ । तर, ६ महिनाको परिदृष्य हेर्दा नेपाली जनता अत्यन्त चिन्तित छन् । हामी सबै चिन्तित छौं । भ्रष्टाचारले जसरी जरा गाडेको छ, यति होल्डिङका कुरा, यति होल्डिङको पासोमा सरकार पर्यो । प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी ग्रुपको क्रियाकलाप यी आदि इत्यादी । खासगरेर ट्रान्सपरेन्सी इन्टरनेशनलको रिर्पोटले नेपालको अनुहारलाई बदनाम गरेको छ । नपाल एउटा एउटा भ्रष्ट मुलुकमा दरिएको छ र त्यसको अगुवाई अहिलेको सरकारले गरेको छ, दुखसाथ मैले भन्नुपर्छ यो कुरा ।

राष्ट्रियसभा सदस्य, नेपाली कांग्रेस

शुक्रबार राष्ट्रियसभाको सातौं अधिवेशनको बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टीको धारणा राख्दै नेता जितेन्द्र देवले व्यक्त गरेको बिचार