निर्वाचनको आवश्यक सुरक्षा तयारी गर्न गृहमन्त्रीको निर्देशन

पुस, २८ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा निर्वाचनको आवश्यक सुरक्षा तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित भएकोले आवश्यक सुरक्षाको तयारी गर्न मन्त्री थापाले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री थापाले निर्वाचनको पक्षमा क्रमशः माहोल बन्दै गइरहेको पनि बताए ।

लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाहरूले आ–आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न पनि मन्त्री थापाले आग्रह गरेका छन् ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी थिए । उनले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययीतालाई ध्यान दिँदै निर्वाचन केन्द्रित बजेट प्रस्ताव गर्न निर्देशन दिएका छन् ।

उक्त प्रस्ताव गृह मन्त्रालयमार्फत पठाउनु पर्ने बताए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिवद्धतासमेत व्यक्त गरे ।