माघ, ४ काठमाडौं । नेपाल भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा डा. स्वयंप्रकाश श्रेष्ठ र सुविर सिंह निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ २९८ मतका साथ विजयी भए । त्यस्तै सिंहले २८२ मत प्राप्त गरे ।
२ उपाध्यक्ष पदका लागि ५ जना चुनावी मैदानमा थिए । आर्मी अफिसर्स क्लबमा शनिबार बिहान ९ बजेदेखि निर्वाचन कार्यक्रम शुरु भएको थियो । मतदान भने दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म गरिएको थियो । अपरान्ह ४ बजेपछि सुरु भएको मतगणना राती ८ बजे सकिएको थियो । निर्वाचनमा देशका दर्तावाल पशुचिकित्सकको सहभागिता रहेको थियो ।
कुल मतदाता संख्या १३७८ मध्ये ६२४ जनाको मत मात्र खसेको थियो । खसेको मत मध्ये ६११ मत मात्र सदर भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सदस्यमा डा. नरेश प्रसाद जोशी (४१२ मत), डा. सुजन राना (३२८ मत), डा. सृजना मानन्धर (२८५मत ), डा. मनोजकुमार शाही (२४१ मत) र डा. सुवास श्रेष्ठ (१५३ मत) विजयी भएका छन् । ५ जना सदस्य पदका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेद्वारी दिएका थिए ।
विजयी हुनेहरुको सपथ ग्रहण र पदबहाली १० माघमा हुने परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले जानकारी दिए । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन भएको हो ।
परिषद्को अध्यक्ष र रजिष्ट्रारसहित २ जना सदस्य सरकारले मनोनित गर्ने व्यवस्था छ । नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था पनि छ । सबै मनोनितहरुको जेठ १६ गते पदावधि सकिने छ ।







