माघ, ७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।
दाहालले एक टेलिभिजन अन्तरवार्तामा देउवालाई आगामी प्रधानमन्त्रीको लागि स्विकार गर्ने बताएका हुन् ।
संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ उल्लेख छ ।
दाहालले भने– देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन ।
प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले स्पस्ट पारेका छन् । हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’







