कारोना विरुद्धको ‘कोभिसिल्ड’खोप सुरुमा कसले लगाउछन्, कस्ता व्यक्तिले नलगाउने ?

पाँचदिन भित्र सबै जिल्लामा पुर्याइने

माघ, ९ काठमाडौं । नेपालमा बिहीबार कोरोनाविरुद्धको खोप ल्याइसकिएको छ । भारत सरकारको अनुदानमा बिहिबार १० लाख डोज भाइरस बिरुद्धको खोप नेपाल ल्याइएको छ ।

१० लाख डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलो लटमा कसलाई दिइन्छ भनेरे धेरले प्रश्न गरेका छन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई बताएका छन् ।
उनले भने पहिलो चरणमा–सरसफाइकर्मी, स्वास्थ्यकर्मी (स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।), एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएकाहरु, सुरक्षाकर्मी, जोखिममा रहेकाहरुलाई पहिलो चरणमा खोप दिइन्छ ।

मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडि बढाउने समेत उनले बताए। कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ। उनले थपे, ‘बाँकी रहेमा कोभिड १९ सँग संघर्ष गरेका अन्य योद्धाहरुलाई दिइनेछ । क्रमश सबैमा पहुँच पुर्‍याउनेछौँ ।’

५ दिनभित्र सबै जिल्लामा खोप, स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने

सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना पनि बनाएको छ । खोप लगाउने दिन भने तय हुन सकेको छैन । कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार नभएको बुझिएको छ ।

नेपालमा पहिलो पटक बिहिवार आएको कोभिसिल्ड खोप कसले नलगाउने भन्ने प्रश्न पनि धेरैसँग छ । किनकी कोभिडविरुद्धको खोपको ‘साइड इफेक्ट’ देखिएका घटना पनि बाहिरिएका छन् । कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतमा खोप लगाएका केही मानिसमा नकारात्मक असर देखिएका कारण केही खास अवस्थामा खोप नलगाउन आग्रह गरेको छ । नयाँ दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ४ हजार ३ सय १९ जना मध्ये ५२ जनामा ‘साइड इफेक्ट’ देखिएको थियो।

एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन कम्पनीले सुझाव दिएको छ।

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिला तथा कोरोनाको अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले जारी गरेको फ्याक्ट सीटमा अनुरोध गरिएको छ ।

खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सूचित गरेको छ ।