बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

काठमाडौँ, १४ असार : नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।

बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्र्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्र्ड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् ।

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ ।

नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टर्र्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्र्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो ।

जुलाई महिनामा चार्टर्र्ड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ ।

जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्र्ड उडान गरेका छन् । बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तरराष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान हो ।

निगमले कोभिडको त्रासमाँझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तरराष्ट्रिय उडान गरेको जनाएको छ । निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन् ।

निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ ।

असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तरराष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

असार महिनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर्र्ड उडान मार्फत स्वदेश फर्किरहेका छन् । (रासस)