किरण पौड्याल
माघ, ११ इलाम । कुनै विधाको इतिहास लेख्न सहज छैन । मौलिक कृति वा सामान्य पुस्तक निकाले जस्तो प्रयत्नले इतिहास लेखिँदैन । अनुसन्धान बढी गर्नुपर्ने र तथ्यमा ढाल्दै साङ्गोपाङ्ग वर्णन गर्नुपर्छ । वास्तविकताको गहिराइमा नपुगी लेखेमा भ्रम फैलिन सक्ने वा अपत्यारिलो हुनेसम्म हुन्छ ।
यस्तै एउटा सङ्घर्षशील प्रयत्न गरेर सफलता हात पर्नुभएको छ इलामका साहित्यकार डा देवी क्षेत्री दुलालले । दुलालले समग्र इलामको साहित्यिक इलामलाई पुस्तकमा ढालेका छन् । करिब आठ वर्षको अथक प्रयत्नपछि डा दुलालले पुस्तक सकेर सार्वजनिक गरेको हुन। हुन त डा दुलाल कहलिएकै लेखकमा पर्नु हुन्छ । हालसम्म उहाँका विभिन्न विधाका १७ कृति प्रकाशित भइसकेका छन् । पछिल्लो कृति ‘इलामको साहित्यिक इतिहास’ लेख्नका लागि भने धेरै सङ्घर्ष गर्नुपरेको थियो ।
त्यसै पनि अग्रज साहित्यकारको नाम कहिएको जिल्ला इलाम । धेरै साहित्यकारका असङ्ख्य कृतिको जानकारी राखेर पुस्तक लेख्न उहाँले अनेक दौडाहा गर्नुपर्यो । कहिले काठमाडौँ त, कहिले जिल्ला अनि कहिले पुस्तकालय त कहिले अग्रजको सामु पुगिरहनु पर्यो । केही प्रमाण खोज्न त मिठाइ पसलसमेत पुग्नु पर्यो । ऐतिहासिक सम्पत्तिको मर्म नबुझी बेचबिखन र नष्ट गरेपछि धेरै प्रमाण पत्ता लागेन तर पनि ठूलो प्रयत्नपछि केही तथ्य फेला पर्यो । “महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा धेरै प्रमाण छन् भन्ने सुनेको थिएँ तर सबै कागजपत्र मिठाइ पसललाई बेचिदिए छन्”, उनले भने, “चोकबजारको अङ्कित मिष्ठान्न भण्डार ९मिठाइ पसल०मा आएर खोज्दा केही चिज भेटियो पनि । यसैलाई आधार बनाएर पुस्तक लेख्न बसेँ ।”
उनका अनुसार खोज्दै जाँदा पहिले लेखिएका विषय नै फरक भेटिए । “गहिरो अनुसन्धानले वास्तविक तथ्य फेला परे र लेखियो”, डा दुलालले भने, “मेरो यो पुस्तक लेखन मात्र थिएन, एउटा अनुसन्धान पनि थियो । त्यसैले लेखियो ।”
के छ पुस्तकमा ?
पुस्तकमा इलाममा जन्मथलो र कर्मथलो बनाएका २५५ साहित्यकारको जानकारी दिइएको छ । कृति प्रकाशित गरेका ती साहित्यकारको नाम, ठेगाना र कृतिका बारेमा जानकारी गराइएको छ । दिग्गज साहित्यकारदेखि फाट्टफुट्ट लेखन गरेर कृति प्रकाशित गर्नेको फेहरिस्त क्रमानुगत लेखिएको छ ।
अनि पुस्तक प्रकाशित नगरेका तर साहित्यकारमा दर्जिएका व्यक्तिको नामावली दिएको छ । जिल्ला बाहिरका साहित्यकारका बारेमा जानकारी दिइएको छ । इलामे इतिहासमा भेटिएका विसं १९२४ देखि हालसम्मका कृति बारेमा सविस्तार चर्चा गरिएको छ ।
“साहित्यिक नालीबेली पहिल्याउँदै जाँदा लिखित प्रमाणका आधारमा १९२४ सालभन्दा अघि बढ्न सकिन्न”, डा दुलालले पुस्तकमा लेख्नुभएको छ, “तर पहिलेका केही कृतिमा अन्य साहित्यकारको नाम उल्लेख गरे पनि इलामे पहिलो साहित्यकार सन्त ज्ञानदिल दास (विसं १८७८–१९४०) हुन् ।” पुस्तकमा विसं २००० भन्दा पहिले जन्म भएका ६२ साहित्यकारको चर्चा गरिएको छ । साहित्यकारको जन्मथलो, कर्मथलो साथै अहिलेको अवस्थाका बारेमा जानकारी गराइएको छ ।
पुस्तकमा आवश्यकतानुसार पुराना कृतिको तस्वीरसमेत समावेश गरिएको छ । डा दुलालको जन्म इलाममा भएको भएको होइन । पाँचथरबाट बसाइँ सरेर इलाम आएका हुन् । जन्मभूमि नभएकाले धेरै विषयमा जानकारी थिएन तर पनि गहिरो खोजपछि उनले पुस्तक लेख्न सम्भव भएको बताएका छन् ।
“विसं २०४६ मा पाँचथरमा गजल कार्यक्रमको सन्दर्भमा एक इलामे साहित्यकारले भनेको विषयले छोएपछि इलाम झरेँ”, उनले भने । झण्डै २०० पृष्ठको बाक्लो पुस्तकमा इतिहासको सिङ्गो इतिहास अटाउन डा दुलाल सफल भएका छन् । पुस्तकमा साहित्य मात्र होइन हालसम्मका निर्वाचित जनप्रतिनिधि, कलाकार, सङ्गीतकर्मी साथै अन्य पेशाकर्मीका बारेमा पनि लेखिएको छ ।
अपूर्णताभित्र पूर्णता खोज्ने प्रयास
इतिहासको गहिरो अध्ययनपश्चात लेखिएपछि डा दुलाले आफ्नो प्रयत्न ‘अपूर्णताभित्र पूर्णता खोज्ने’ प्रयत्न रहेको बताएका छन्। विगतमा लेखिएका विषयलाई सङगठित गर्ने काम भएपनि थप अनुशन्धान गर्नुपर्ने उनको सुझाव छ ।
“यो अनुसन्धान भन्ने विषय पूर्ण हुँदैन, थप अनुसन्धान गर्दा अझै पुराना तथ्य भेटिन सक्छन्”, उनले भ, “म आनेफैँ पनि पुस्तकलाई नम्बरिङ गर्ने हो भने १०० मा ८० मात्र दिन्छु । अरू तथ्य भेट्टाउने काम मेरोसँगै तपाईंहरूको पनि ।”
इलामको साहित्यिक पत्रकारिता
लेखकले पुस्तकमा इलाममा प्रकाशित÷प्रसारित सञ्चारसंस्थाका बारेमा चर्चा गरेका छन् । इलामको साहित्यिक पत्रकारिताको इतिहास हस्तलिखितबाट भएको पुस्तकमा चर्चा गरिएको छ । विसं २००९ सालमा प्रकाशित ‘घाँसी’ हस्तलिखित पत्रिका नै इलामे इतिहासको पहिलो कृति हो । त्यसपछि आँशु (२०१०), ज्ञानभूमि (२०१२), पालुवा (२०१४) लगायतका कृति प्रकाशित भएको पुस्तकमा उल्लेख छ । यस्तै इलामको पहिलो साहित्यिक कार्यक्रम चाहिँ नेपाली भाषा प्रचारक सङ्घ करफोकको आयोजनामा २००९ सालमा भएको राष्ट्रिय साहित्य सम्मेलनबाट भएको देखिन्छ । विसं २००९ असोज १८ देखि २२ सम्म भएको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, धरणीधर कोइराला, डा तारानाथ शर्माको समेत उपस्थिति रहेको पुस्तकमा जनाइएको छ ।
यो कार्यक्रम नै इलामे साहित्यिक कार्यक्रमको पानीढलो रहेको पुस्तकमा बताइएको छ । यसपछि विस्तारमा कार्यक्रम चल्दै गएको र साहित्यिक सम्मेलन र जमघटसमेत हुने गरेको उल्लेख गरिएको छ ।
१८ पुस्तक प्रकाशित, ३२ प्रकाशोन्मुख
लेखकले हालसम्म १८ पुस्तक प्रकाशित गरिसकेका छन् । विसं २०५१ मा साहस ९नाटक० देखि ‘इलामको साहित्यिक इतिहास’ सम्म लेख्दा उपन्यास, कथा, कविता जीवनीलागयतका विधामा कलम चलाएको देखिन्छ ।
वर्षमा दुई वटासम्म कृति प्रकाशन गरेर बजार पुर्याउने डा दुलाल आफ्ना ३२ पुस्तक प्रकाशन हुन बाँकी रहेको बताए । राजनीति शास्त्रमा विद्यावारिधि दुलालको कलम राजनीति शास्त्रबाहेक अन्य विधामा पनि उस्तै तरिकाले बगेको देखिन्छ । विसं २०२८ सालमा जन्मनुभएका उनी प्रगतिशील लेखक सङ्घका प्रदेश १ अध्यक्ष तथा आँखा पत्रिकाका सम्पादक छन् ।







