माघ, १२ काठमाडौं । आइतबार राष्ट्रियसभा गृहस्थित नेकपा ओली समूहको कार्यक्रम स्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु अघि नै अन्तरक्रिया चलिरहेको थियो ।
प्रधानमन्त्री पुग्नु अघि नै त्यसबेला महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले सम्बोधन गरिसकेकी थिइन् भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना बोलिरहेका थिए ।
प्रधानमन्त्री हलमा प्रवेश गरेपछि कार्यक्रमलाई सम्बोधन गरिरहेका मन्त्री ठगुन्ना अलमलमा परे । बोल्दाबोल्दै रोकिएका उनले सम्मानीय प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्दै दायाँबायाँ हेरे । त्यसपछि उनले बोल्दै गरेको माइक छोडे, पोडियम नै छाडेर पर सरेपछि कार्यक्रम सञ्चालकले प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यता ग्रहण गर्न आग्रह गरे । त्यसपछि फेरि बोलेका ठगुन्नाले केहीबेरमा सम्बोधन सकाए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अपाङ्गताका क्षेत्रमा नौ वटा संघसंस्थाले प्रस्तुत गरेको ज्ञापन पत्रबारे छिट्टै निर्णय गर्ने आश्वासन समेत दिए ।
म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ : ओली
नेकपा विभाजनपछि आफ्नो समूहको भेला बैठकमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा सहभागी भए ।
झण्डै आधा घण्टा सम्बोधन गरेका उनले पहिले अपाङ्गता हुनु भयावह भएपनि अहिले सरकार साथमा रहेको बताए । तालिम दिएर स्वरोजगार बनाउन सरकारका साथै अनेक संघ संस्थाले सहयोग गर्ने उनले बताए ।
सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताए । अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सजल बम । यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’
शारीरिक रुपमा अशक्तता भएकाहरुले देश विकासमा काम गर्नसक्ने उनले बताए । अपाङ्गता भएर पनि समाजसेवाका साथै हामी केही गर्न सक्छौं भनेर अरुमा आत्मविश्वास जगाउने र बाटो देखाउने काम गरेको भन्दै प्रशंसा गरे ।
‘म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ । मेरो पनि किड्नी फेल भएपछि अर्को जोडेर राखेको छु । म पनि अर्को किड्नीको ह्विलचियर चढेर हिँडेको मान्छे हुँ । त्यो पनि फेल भयो । फेरि अर्को किड्नीको बैशाखी टेकेर हिँडेको छु,’ उनले अघि भने, ‘आँखामा मैले चश्मा किन लगाएको ? यदि लगाइन भने पढ्न सक्दिनँ । त्यो पनि अपाङ्गता नै हो ।’
किड्नी फेरेर पनि बाँच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूले देखाएको उनले बताए । उनले अघि भने, ‘शायद यो पनि विश्व रेकर्ड नै होला, दुइटा किड्नी फेरेको कोही प्रधानमन्त्री छैन होला ।’
अहिले सडकमा ‘खाते’ छैन
उनले अहिले सरकारले अभिभावकको भूमिका खेलेका कारण सडक बालबालिका नरहेको बताए । हिजो सडकभर बालबालिका हुने र उनीहरुलाई खाते भनेर अपमान गर्ने गरिएको भन्दै उनले भने, ‘अहिले कुनै पनि नेपालीको छोराछोरीले खाते भन्ने सन्नु परेको छैन । हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं । अहिले सडकमा खाते छैन ।’
सडकमा सहयोगापेक्षी मानव पनि नरहेको बताए । त्यस्ता मानिसहरु खोजीखोजी ल्याउने र उपचार तथा खानेवस्ने प्रवन्ध गरिरहेको उनले बताए ।
(यसअघि प्रकासन भएको समाचारमा समाचारका आधारमा गलत फोटो पोष्ट भएकोमा क्षमा प्रार्थि छौं । –सम्पादक)







