२१ असार, काठमाडौं । नेकपाभित्रको विवाद उत्तेजक अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिएका छन् ।
ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।
यसै सन्दर्भमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खरो टिप्पणी गरेका छन् ।
उनले घुमाउरो पारामा प्रधानमन्त्रीलाई राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार नगर्न आग्रह गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्-‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ ।
राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।’







