माघ, १८ काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएसँगै चिकित्सकले पन्छीको मासु खाँदा राम्रोसँग पकाएरमा मात्र खान सुझाव दिएका छन् ।
बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउन समेत चिकित्सकले सुझाव दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले जानकारी दिए ।
बर्डफ्लु पुष्टि भएसँगै शनिवार नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको प्रमुख रायले जानकारी दिए ।
यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।







