माघ,१९ काठमाडौ।नुवाकोटमा नेकपा ओली पक्ष र दाहाल-नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । साेमबार कार्यकर्ता भेलामा सहभागी हुन गएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नुवाकोट आदर्श बहुमुखी क्याम्स अगाडि दाहाल–नेपाल समूहका कार्यकर्ताले अवरोध गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।
बाटो बन्द गरेर उपप्रधानमन्त्री पोखरेललाई कालो झण्डा देखाउन खोजेपछि ओली पक्षका कार्यकर्ताले प्रतिकार गर्न खाेजेका थिए । प्रतिकारका क्रममा केही बेर तनाव उत्पन्न भएको थियो । स्थानीय श्याम अधिकारीकाअनुसार झडपका क्रममा दुई जना सामान्य घाइते भएका छन् भने उपप्रधानमन्त्री पोखरेलको गाडीमासमेत तोडफोड भएको छ । अनेरास्ववियूका नेता विनोद कोइरालासहित दुई जना घाइते भएको उनले बताए ।
उनीहरूको स्थानीय सन्जीवनी अस्पतालमा उपचार भइरहेको छ । दुवै पक्ष झडपमा उत्रेपछि प्रहरीले समेत बल प्रयोग गरेको उनले बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने उपप्रधानमन्त्री पोखरेल जाने बाटोमा सामान्य अवरोध मात्रै भएको बताए ।







