निर्वाचन तोकिएकै समयमा हुन्छ : उपप्रधानमन्त्री पोखरेल

माघ,१९ काठमाडौ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् ।  नुवाकोट सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।  

‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्‍न हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्‍चालन नगर भनिरहेका छन् । गलत दबाब र धम्कीले निर्वाचन रोकिँदैन’ उनले भने । उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको बताए ।

उनले अदालतले गर्ने फैसलालाई स्वीकार गरिने पनि बताए । यसैबीच सोमबार नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा  पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्‍न गर्नका लागि आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।