माघ, २० काठमाडौं । विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसमा सोमवारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।
सोमबार महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरे । उनको बहस मंगलबार(आज) पनि जारी रहनेछ । महान्यायाधिवक्ता बाहेक १० जना सरकारी वकिलले बहस गर्नेछन् ।
महान्यायाधिवक्ता खरेलले दिएको जानकारी अनुसार कुन वकिलले कुन विषयमा बहस गर्ने भनेर छुट्याइएको छ ।
कसले कुन विषयमा बोल्दैछन ?
१. नायब महान्यायाधिवक्ता पदम पाण्डे : प्रधानमन्त्रीको विशेषाधिकार के हो ? संसदीय शासन प्रणाली भएका देशहरुको अभ्यास कस्तो छ ?
२. नायब महान्याधिवक्ता नारायणप्रसाद पौडेलले बहस गर्ने विषय : संविधानको धारा ७६ र ८५ को अन्तरसम्बन्ध संविधानका अरु व्यवस्थहरुको विश्लेषण ।
३. नायब महान्याधिवक्ता विश्वराज कोइराला : संसद विघटन राजनीतिक प्रश्न हो । राजनीतिक प्रश्न अदालतले किन हेर्न मिल्दैन ?
४. नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे : संसद विघटनको अन्तर्राष्ट्रिय अभ्यास ।
५. सहन्यायधीवक्ता श्याम कुमार भट्टराई : प्रधानमन्त्रीको विघटनको अधिकार र संसदीय अभ्यास । विगतमा नेपालको अभ्यास कस्तो ?
६. सहन्यायधीवक्ता सन्जिवराज रेग्मी : विगतका संसद विघटनसम्बन्धी मुद्धाको फैसलाको अध्ययन र प्रतिपादित सिद्धान्तको ब्याख्या ।
७. सहन्यायधीवक्ता लोकराज पराजुली : सफा हातको सिद्धान्त (निवेदक सफा हात (निश्पक्ष) लिएर आउनुपर्छ भन्ने हुन्छ । तर, प्रतिनिधिसभा विघटनविरुद्धका निवेदकहरु सफा हात लिएर आएका छैनन् । निवेदकहरु बायस छन् भन्नेमा केन्द्रीत)
८. सहन्यायधीवक्ता खेमराज ज्ञवाली : राष्ट्रपतिको कार्य संवैधानिक छ भनेर ब्याख्या गर्ने ।
(निवेदकहरुले राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्नेमा त्यसो नगरी प्रधानमन्त्रीको कदम तत्काल स्वीकार गरेको भनेर निवेदकहरुले प्रश्न उठाएका छन् ।)
९. सहन्यायधीवक्ता उद्धव प्रसाद पुडासैनी : संसदीय दल समग्रमा एउटै हुन्छ र छ । नेकपाको संसदीय दल कसर टुटेको छैन भनेर ब्याख्या गर्ने ।
१० उपन्यायधीवक्ता दशरथ पंगेनी : संसद विघटन गर्ने प्रधानमन्त्रीको दुरासयपूर्ण काम होइन भनी ब्याख्या गर्ने ।
(प्रधानमन्त्रीले दुरासय राखेर संसद विघटन गरेको निवेदकको भनाई छ ।)
सरकारतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि सभामुखका तर्फबाट छुट्टै कानुनी प्रतिरक्षा हुनेछ ।
त्यसपछि रिट निवेदकहरुले सरकारी पक्षले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । रिट निवेदकले जवाफ दिएपछि एमिकस क्युरीको पालो आउनेछ ।







