माघ,२२ काठमाडौ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । उनले मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको बताए । कुश्मा नगरपालिका- २ खुर्कोटमा बिहीबार आयोजित कालीगण्डकी प्रशारण करिडोरको सबस्टेशन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए । नेपालमा २० वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको उनको दाबी छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठुलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिबासीमा खुसियाली छाएको दाबी गरे । उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताए ।रासस







