माघ,२३ काठमाडौ।नेकपाका (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । शुक्रबार पत्रकासँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम ओली मार्फत सबै मुलुक भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताए ।
उनले पनि आफ्नो गल्ती र कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वास का साथ अघि बढेको पनि बताए । विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । ‘मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देशभित्र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरे,’ उनले भने, ‘ओलीले उनीहरूसँग आत्मसमर्पण गरेकै हो ।’
लोकतन्त्रको रक्षा हुन्छ कि हँुदैन भन्ने प्रश्न नै मुल पाटो रहेको बताए । संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने उनले बताए । ‘सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संबैधानिक संकटमा धकेल्ने काम गरेको छ,’ उनले भने, ‘प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीले ?’
यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने हो भन्दै उनले भने, ‘शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो ।’ यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँनसक्ने पनि उनले बताए ।







