माघ,२८ काठमाडौ।नेकपा (दाहाल–नेपाल) समुहका प्रवक्ता नारायाणकाजी श्रेष्ठले मञ्चबाटै पत्रकारलाई अन्तरवार्ता लिन रोकेका छन् । दाहाल–नेपाल पक्षले बुधबार काठमाण्डौंमा आयोजना गरेको विरोध सभामा बोल्दै गर्दा मञ्च अगाडी रहेका पत्रकार ऋषि धमलाले नेताहरुसँग अन्तरवार्ता लिन थालेपछि श्रेष्ठले नामै लिएर उनलाई रोकेका हुन् ।
श्रेष्ठ बोलि रहेका बेला धमलाले मञ्च अगाडीनै अन्तरवार्ता लिन थालेपछि उनले भने ‘पत्रकार साथीहरु हामीले यहाँ सभा सञ्चालन गरिरहेका छौं, तपाईहरु त्यहाँ चुप लाग्दिनुस् ।’ पत्रकार धमलालाई औला देखाउँदै नामै लिएर श्रेष्ठले भने ‘सुन्नु भो ऋषि धमला जी, ऋषि धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस् । चुप लाग्नुस्, तपाई चुप लाग्नुस् ।’ बेला बेलामा चर्चा कमाई रहने धमलाले नारायण काजीको आग्रहपछि अन्तरवार्ता लिन बन्द गरेका थिए ।
धमलाले आफ्नो काम बन्द गरेपछि भाषणलाई निरन्तरता दिँदै नेता श्रेष्ठले उपस्थित जनतालाई प्रस्ट्याउँदै भने–‘उहाँले राम्रै काम गर्नुभएको थियो जनताको बीचमा अन्तरवार्ता लिँदै, तर अहिले होइन पछि लिन म विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु ।’
सभामा बोल्दै संवैधानिक आयोगमा सरकारले गरेको नियुक्तिको वैधानिकता नरहेको बताएका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको बताउँदै उनले ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार नभएको बताए । ‘जङ्गली प्रक्रियालाई हामी असफल बनाउन चाहान्छौं, बल मिच्याइमा असंवैधानिक बैठकले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरियो ।’–नेता श्रेष्ठले भने, असंवैधानिक सरकारको बैठकले संवैधानिक पदहरुमा नियुक्ती भयो यो असंवैधानिक छ ।







