१५ भदौ, काठमाडौं। सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन ‘के’ (के वान) दिने तयारी गरेको छ।
रगतको मात्रा बढाउनका लागि सरकारले नवजात शिशुलाई ‘भिटामिन ‘के’ दिन लागेको हो। शिशुलाई जन्मेदेखि २८ दिनभित्र सुईको माध्यमबाट ‘भिटामिन ‘के’ दिइने छ। ‘भिटामिन ‘के’ को नाम (के वान) राखिएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले शिशुमा रगतको मात्रा कमी हुन नदिन यसै आर्थिक वर्षदेखि पहिलो पटक भिटामिन ‘के’ दिने तयारी थालिएको जानकारी दिए।
दुई वर्ष अघिदेखि कम तौल भएका शिशुलाई मात्र दिंँदै आइएको भिटामिन ‘के’ अब सबै शिशुलाई दिइने छ। साउनदेखि नै शुरु गर्ने भनिएको यो कार्यक्रम कोभिड–१९ को कारणले केही ढिला भएको गौतमले बताए।
शिशुमा रगत जमाउने तत्वको कमी हुन्छ। जसको कारण रक्तस्राव भई शिशुको मृत्युदर धेरै हुने गरेको छ। शिशुमा रगत जमाउने तत्व निर्माणमा गर्न ‘भिटामिन ‘के’ ले काम गर्ने उनले बताए। जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ‘भिटामिन ‘के’ दिनुपर्दछ।
‘भिटामिन के वान’ मानिसमा खाना तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ। नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राप रोक्न प्रयाप्त हुँदैन। नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय नहुने हुँदा शिशुमा ‘भिटामिन के’ को कमी हुने गरको स्वास्थ्यकर्मीहरु बताउँछन्।
यसै आवदेखि नेपालका छ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ। अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार जन्मेको पहिलो सातासम्म दुई सय ५० नवजात शिशुमध्ये एकजनामा र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ।
शिशुको तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०.५ मिलिग्राम भिटामिन दिइनेछ। ‘भिटामिन के’ दिनका लागि सबै प्रदेशलाई बजेट र निर्देशिका पठाइ सकिएको खोप शाखा प्रमुख डा.गौतमले बताए।
प्रदेश नं. १ ले ३८ लाख ५४ हजार, प्रदेश नंं २ ले ४२ लाख ६६ हजार, वागमती प्रदेशले ५४ लाख ८३ हजार, गण्डकीले ३१ लाख ६४ हजार, कर्णालीले २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले ३८ लाख ३० हजार रुपैयाँ बजेट ‘भिटामिन के’ का लागि विनियोजन गरेका छन्। रासस







