१५ भदौ, काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।
मुखर्जीको उपचारको क्रममा सोमबार दिउँसो दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो।
उनमा कोरोना संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। मुखर्जीका छोरा अभिजित मुखर्जीले बुवाको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरेका छन्।
‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ,’ ट्विटमा अभिजितले लेखेका छन्।
पाँच दशकसम्म भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो। उनको मस्तिष्कको सर्जरीसमेत गरिएको चिकित्सकले बताएका छन्।
१० अगस्टमा मुखर्जीले आफूलाई कोरोना पुष्टि भएको सार्वजनिक गरेका थिए। अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा उनमा कोभिड १९ पोजिटिभ देखिएको थियो। कोरोना संक्रमण देखिएलगत्तै उनलाई दिल्लीस्थित आरआर अस्पताल भर्ना गरिएको थियो।
राजनीतिमा आउनुअघि शिक्षण र पत्रकारितासमेत गरेका मुखर्जी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि लगातार चारपटक उनी राज्यसभा सदस्यमा निर्वाचित भएका थिए।
सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका मुखर्जीले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेबारी सम्हालेका थिए।







