भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवतीका लागि छुट्टै कक्ष

१६ भदौ, चितवन। कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ।

सुत्केरी व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण ढंगले बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी आउने गरेका छन्।

अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो। अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी महिला सुत्केरी हुँदै आएका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार यही शुक्रबारसम्ममा ती कक्ष तयार हुने गरी काम भइरहेको छ। कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाउन थालिएको हो।

कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिए।

कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या नहुने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालको ए व्लकको भुई तलाको सर्जिकल बिभागका छ कोठा र अर्थोपेडिक कक्षलाई हाल कोभिड आइसोलेसन बनाइएको छ। सोही ठाउँमा कोभिड प्रसूति कक्ष बनाउन लागिएको हो।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले अस्पतालमा बच्चा जन्माउने गरेका छन्। अन्यत्रभन्दा सुरक्षित ठानेर नै भरतपुरमा बढी गर्भवती सुत्केरी हुन आउने गरेको उनले बताए।

हालसम्म अस्पतालले चार जना कोरोना सङ्क्रिमण भएका महिलाको प्रसूति गराइसकेको छ। एक जना गर्भवती आइसोलेसनमा रहेको सापकोटाले जानकारी दिए।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले परोपकार प्रसूतिगृह पछि देशमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल भएकाले आवश्यक सम्पूर्ण तयारी गरिएको बताए। ‘निजी झै हामी तर्किन पाउँदैनौँ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौँ।’

भरतपुर अस्पतालले १० श्ययाको कोभिड सघन उपचार कक्ष पनि सञ्चालन गरिरहेको छ । यस अस्पतालले जिल्लामा कोभिड उपचारको नेतृत्व गरिरहेको छ।

मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा भरतपुरमा कोभिडको उपचार भइरहेको छ। भरतपुर अस्पतालले गएको वैशाख महिनाबाट कोभिड संक्रमितको उपचार गर्दै आएको छ।

कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भइरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहने अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालले कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ।