१६ भदौ, काठमाडौं। दुई दिन केही सफा देखिएको नेपालको मौसम मंंगलबारदेखि पुनः बदली भएको छ। मौसम बदलि भएसँगै मंगलबार देशका विभिन्न ठाउँमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार देशका अधिकांश क्षेत्रमा सफा देखिएको मौसम आजदेखि पुनः बदली भएको हो। यो क्रम तीन दिनसम्म जारी रहने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। ‘अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको छ,’ उनले भने।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले देशको धेरैजसो स्थानमा मंगलबार बिहानैदेखि मौसम बदली भएको छ। श्रेष्ठका अनुसार प्रदेश १ र २ मा अहिले हत्का पानी परिरहेको छ। पूर्वबाट मनसुनी प्रणाली पश्चिमतिर पनि सर्ने क्रममा छ। आज दिउँसैदेखि वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ।
वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए।
‘पश्चिम सर्ने क्रममा रहेको मनसुनको कारण भोलि कर्णाली र सुदूरपश्चि प्रदेशमा पनि पानी पर्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ।’
महाशाखाका अनुसार आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, वाग्मती प्रदेशको रसुवा र काठमाडौँमा पानी परेको छ। गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ।
आज प्रदेश ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए। पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने बाढीपहिरोको जोखिम कायमै रहेको उनले बताए।
नेपालबाट सामान्यतयाः सेप्टेम्बर २३ बाट मनसुन बाहिरिन्छ। तर नेपालमा एकै पटक मनसुन हट्ने नभई पाकिस्ताबाट विस्तारै फर्किँदै जाने हुन्छ। त्यसपछि मात्रै नेपालबाट हट्छ।
‘पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ’, मौसमविद् श्रेष्ठले भने, ‘यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ।’
यसपाली नेपालमा मनसुन औसत रह्यो। तर, मनसुन पूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले देशमा बाढीपहिराका ठूला घटना भएको श्रेष्ठले बताए।







