१७ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले रेल सेवा सुरु गरेपछि नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको बताएका छन् ।
‘भारतले आफ्ना नागरिकहरुका लागि भनेर श्रमिक रेलवे सेवा भनेर चलाइसकेपछि सबै कुरा खलबलियो । हाम्रा नागरिक सीमामा आउनुभयो । सीमामा आइसकेपछि नल्याएर भएन’ परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘त्यसले हाम्रो आन्तरिक प्रवन्धलाई पनि अलिकति खलबल्याएको छ । संक्रमणको जोखिम पनि ह्वात्तै बढेको छ ।’
गत बैशाख ३० गतेबाट भारतमा रेल सेवा सञ्चालनमा आएको छ । ‘रेड जोन’मा नपरेका क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ । ‘ग्रिन जोन’ क्षेत्रमा त गाडी नै चलाउन थालिएको छ । यससँगै भारतमा रहेका नेपालीहरु सीमा क्षेत्रमा आउने, वा सोझै नेपाल प्रवेश गर्ने क्रम बढेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नाका हुँदै सरकारको रेकर्डमा रहने गरी लकडाउनको समयमा १ लाख १२ हजार भारत हुँदै नेपालीहरु नेपाल प्रवेश गरेका छन् । लकडाउन सुरु हुनु भन्दा अगाडि एक लाख भन्दा बढी नेपाल प्र्रवेश गरेका थिए । कैयन जंगल हुँदै वा अन्यत्रबाट नेपाल प्रवेश गरिरहेका छन् । खुला सीमाका कारण नाका हुँदै नआउनेहरुको रेकर्ड सरकारसँग छैन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले विदेशमा रहेका नेपालीहरु, खासगरी भारतमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि के कस्ता पहल भइरहेको छ ? भनेर सोधेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
‘जो जहाँ छ त्यहिँ संरक्षण गरौं भनेर समझदारी बनाएका थियौं । एक लाख भन्दा बढी भारतीय नागरिक यहाँ (नेपाल) अडिकनुभएको छन् । उहाँहरुको संरक्षण गरेका छौं । क्यारेन्टिनमा राखेर, राहत वा सुरक्षा दिइरहेका छौं’ उनी भन्छन्, ‘यो बेला आफ्ना नागरिक मात्रै हेर्छौं भन्न मिल्दैन, यस्तो परिस्थितिमा संबन्धित देशको पनि दायित्व हुन्छ भन्ने हो । तर, भारतको हकमा रेल चलेपछि नेपालीहरु सीमामा आइरहेका छन् ।’
बोर्डरमा धेरै समस्या
नेपाल–भारत सीमामा भारतीयहरुले नेपाली नागरिकहरुलाई धेरै नै दुख दिने गरेको गूनासो परराष्ट्रमन्त्री ज्ञवालीको छ ।
सिराहा जिल्लामा ठाडी भन्सार गेटबाट पूर्व १.५ किलोमिटर पक्की सडक निर्माण गरेको, धनुषाको २७० नम्बरको पिल्लरमा उताबाट पक्की ढलान सडक बनाएको, धनुषामै रेलवे लिग भन्दा पश्चिमपट्टि पक्कि ढलान सडक बनाएको, पिल्लर नम्बर २७१ मा खाली जमिन अतिक्रमण भएको जानकारी उनले दिए ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार भारतले महोत्तरीमा पक्की सडक बनाएको छ । रौतहतमा बाँध बाँधेर बाँधको उचाई बढाउँदै लगेको छ । त्यहाँ कतिपय ठाउँमा पक्की सडक पनि बनाउँदै गरेको छ । रौतहटको प्रहरी चौकी जयनगर नजिकै कच्ची घर बनाएको छ भने कच्ची सडक पनि बनाएको छ ।
‘यि विषयहरुलाई दुईपक्षीय वार्तामा सिरियसली उठाइएको अवस्था छ’ मन्त्री ज्ञवाली भन्छन्, एकातिर विपत्तको पूर्व तयारी गर्नुपर्ने छ भने, अर्कोतिर भारतसँग रहेका दुई पक्ष संयन्त्रसँगको छलफललाई निरन्तरता दिएर सिरियसली यि विषयहरुमा कुराकानीहरु गर्नुपर्ने जरुरी देखिन्छ ।’
कालापानीबारे वार्ताको पतिक्षा
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पयाधुराबारे भारतसँगको वार्ताको प्रतिक्षा गरिरहेको बताएका छन् । तर, औपचारिक वार्ताको मिति र मोडालिटी तय भने भइनसकेको छैन् ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको छ भने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ राजनीतिक नक्सा बनाएको छ । भारतले यो नक्सा स्वीकार्य नहुने बताएको छ र कूटनीतिक संवादबाट समस्या सामाधान गर्न आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताबाटै समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री ज्ञवालीले भने, ‘अहिले औपचारिक वार्ताको ठोस मिति र मोडालिटी तय भइसकेको छैन । हामी निरन्तर टचमा छौं ।’







