कोरोनाबाट रुपन्देहीमा एकै दिन दुई महिलाको मृत्यु

१७ भदौ, काठमाडौं। कोरोना संक्रमणको कारण रुपन्देहीमा एकै दिन दुई महिलाको मृत्यु भएको छ। बुटवल र भैरहवामा गरी दुई महिलाको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ६० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–११ की ती महिलाको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

७ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनमा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्।

गएराति कोरोना भाइरस संक्रमणको कारण भैरहवामा पनि एक महिलाको मृत्यु भएको छ। उपचारका क्रममा भीम अस्पतालमा ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी उनलाई तीन दिन अघि मात्रै अस्पताल भर्ना गरिएको थियो।