छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

१७ भदौ, काठमाडौं। दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ।

राप्ती गाउँपालिका–२ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीया महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए।

त्यसैगरी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो।

यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो।