७० करोड कमिसन प्रकरण : मिश्रलाई अख्तियारमा उपस्थित हुन सात दिने सूचना

१७ भदौ, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका व्यवसायी विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सूचना प्रकाशित गरेको छ।

पूर्वमन्त्री गोकुल बाँस्कोटासँग ७० करोड रुपैयाँ वार्गेनिङ भएको अडियो रेकर्ड गर्ने मिश्रलाई अख्तियारले बुधबार दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर आयोगमा बोलाएको हो।

मंगलबार मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। हाल उनी जापानमा छन्।

तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका छन्।

७० करोड मोलमोलाइको विषय सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजीनामा दिएका थिए भने मिश्रले भने अहिलेसम्म कुनै सजाय पाएका छैनन्।