एयर अरेबियालाई १४२ यात्रुको पैसा फिर्ता गर्न पर्यटनमन्त्रीको निर्देशन

१७ भदौ, काठमाडौं। सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा युएईको सारजाहबाट काठमाडौं आएका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएका पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ।

एयर अरेबियाले १४२ जनाको पिसिआर गरेको, १८ जनाको आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिएका हुन्।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नेसमेत चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका सचिवालयले जनाएको छ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरुपमा कालोबजारी गरेको गुनासो आएको भन्दै यसमा एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने बताए।

अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गरिने मन्त्री भट्टराईले बताए।