निषेधाज्ञा र बन्दाबन्दी : सरकारले बनायो यस्तो मापदण्ड

१७ भदौ, काठमाडौं। सरकारले पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको जानकारी दिए।

हाल देशमा पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाको संख्या १२ छ। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीमा पाँच सय भन्दा धेरै कोरोना संक्रमित छन्।

यसैबीच अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले नेपालमा गरेको भनिएको कोभिड–१९ सङ्क्रमितको सर्वेक्षणले सिर्जना गरेको भ्रममा नपर्न प्रवक्ता डा गौतमले आग्रह गरे। उनले मन्त्रालयलृ नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए।

कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै गौतमले खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने बताए।

त्यसैगरी मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ।