फागुन,१६ काठमाडौ।नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्न माग गरेका छन् । लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर गरिएको उल्लेख गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए ।
रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन् ।
‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ ’जवाफमा उनले भनेका छन् ।










