अदालतको अवहेलना गरेको छैनः अध्यक्ष दाहाल

फागुन, १७ काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गरेका छन् ।

सर्वोच्च अदालतमा आइतबार आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका अध्यक्ष दाहालले अदालत र न्यायाधीश उपर लाञ्चना लगाउने तथा धम्की दिने काम नगरेको बताउनुभयो । सार्वजनिकसभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारीणीले संविधानविरुद्ध काम गरेकाले सोबारे जनतालाई सूसुचित गराउन आफ्नो धारणा व्यक्त गरेको उनको जवाफमा उल्लेख छ ।

उनले भन्नुभएको छ, “मैले भनेका कुराले सम्मानित अदालतको अवहेलना हुन सक्दैन, अदालत र न्यायाधीश उपचर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने काम गरेको छैन ।” लिखित जवाफमा नेपालको संविधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना भइरहेको हुनाले अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरिदिन आग्रह गरिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले एक हप्ताभित्र लिखित जवाफ लिएर आफैँ उपस्थित हुने आदेश जारी गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा विचारधीन मुद्दामा अभिव्यक्ति दिएको उल्लेख गर्दै उनलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा अधिवक्ता समीर हायूले दायर गरेका थिए ।।

सोही विषयमा सोही प्रकृतिको मुद्दा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ पेश गरिसक्नुभएको छ ।