फागुन, १९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए ।
सोमबार बसेको सचिवालय बैठकको निर्णयअनुसार बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले फागुनको ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रचण्ड समूहको आगामी प्रतिनिधिसभा बैठक र बैठकमा अविश्वासको प्रस्ताव दर्तासँगै त्यसपछिको सत्ता समीकरणबारेको छलफलमा दौडधूप छ ।
प्रतिनिधिसभा बैठक यही फागुन २३ गते ४ बजेका लागि आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैठक आह्वान गरेकी हुन् ।
सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटनको निर्णय गरेको थियो ।
त्यसपछि सत्तारूढ नेकपा राजनीतिक रूपमा नेकपाको ओली समूह र प्रचण्ड समूहमा विभाजित भएको छ ।
पार्टी आधिकारिताको विवाद पनि निर्वाचन आयोगमा छ। आयोगले विवादलाई निरूपण गर्न सकेको छैन ।






