केन्द्रीय सदस्यहरुसँग प्रचण्डको ब्रिफिङ: परिस्थिति अनुकुल छ, यहाँ धेरै ब्रिफ नगरौं

फागुन, २० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यहरुसंग ब्रिफिङ गरेका छन् ।

बुधबार पेरिसडाडाँमा नागरिकता र पार्टी परिचयपत्रसहित बोलाइएका केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले ढुक्कले पार्टी मोर्चामा खटिन निर्देशन दिए । ‘केपी ओलीको असंवैधानिक कदमको विपक्षमा रहेको र संविधानको रक्षाको पक्षमा उभिएका दलहरुसँग कुरा सकारात्मक छ’, प्रचण्डको ब्रिफिङ थियो ।

‘परिस्थिति अनुकुल छ’ भनेका उनले ‘यहाँ धेरै ब्रिफ नगरौं, तपाईंहरु ढुक्क भएर लाग्नुहोस्’ भनेका थिए । निर्वाचन आयोगले पार्टी वैधानिकता आफूहरुलाई नै दिने अध्यक्ष प्रचण्डले बताएका छन् । ‘जसरी सर्वोच्च अदालतबाट संविधानको रक्षामा निर्णय आउँछ भनेका थियौं । निर्वाचन आयोगबाट पनि त्यही हुन्छ । र, राजनीतिक समीकरण त्यस्तै नै बन्छ’, प्रचण्डको भनाइ थियो ।

संसद र सरकार कसरी अगाडि बढ्छ भन्ने चाहिँ प्रचण्डले प्रष्ट नबताएको एक नेताले बताए । बैठकले २३ माघमा बोलाइएको प्रतिनिधिसभा बैठक र निर्वाचन आयोगको वैधानिकताबारे निर्णय लिने जिम्मा स्थायी कमिटी र सचिवालयलाई दिएको छ ।

ओलीसँग एकता हुँदैन : माधव नेपाल

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता नहुने दोहोर्याएका छन् ।

अध्यक्ष नेपालले ओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्ने बताए ।

‘संविधान र लोकतन्त्रमाथि घात गरेर अगाडि बढ्ने, सर्वोच्च अदालतले हराएपछि पनि मेरो कुरा ठीक हो भन्नेसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नुहोस्’, उनले भने ।

एकताको सम्पूर्ण ढोका ओलीले नै बन्द गरिसकेको उनले बताए । ‘एकताको बेलुन उडाउने अनि हामीविरुद्ध निर्णय लिँदै हिँड्ने गरिरहेका छन्’, उनले भने, ‘ओलीसँग एकता सम्भव छैन, तर त्यहाँ रहेका साथीहरु आउँछन् भने कसैलाई भेदभाव गरिँदैन । ओलीको पक्षमा लागेको आधारमा प्रतिशोध लिइँदैन ।’

ओलीको पक्षमा लागेकै कारण कोही नेतामाथि भेदभावपूर्ण अभिव्यक्ति नदिन पनि नेपालले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । ‘सर्वोच्च अदालतको फैसला आउनु अघि दिइएको अभिव्यक्तिका आधारमा भेदभाव गर्नु हुँदैन’ उनले भने, ‘केपी ओलीसँग चाहिँ हुँदैन, यसमा अलमलमा नपर्नुहोस् ।’

ओली समूहमा कतिपय इमान्दार नेताहरु रहेकाले उनीहरुलाई स्वागत गर्ने अध्यक्ष नेपालले प्रष्ट्याए ।

सात नेतालाई कारवाही

नेकपा प्रचण्ड–माधव समूहको बुधबार कै बैठकले ओली समूहका सात जना नेतालाई कारवाही गरेको छ ।

पार्टी नीति विपरित गतिविधि गरेको ठहर गर्दै सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, कर्ण थापा, प्रभु साह, शान्ता चौधरी र सूर्य थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको नेता भीम रावलले जानकारी दिए ।

वैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

संसद विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकले पदमा टाँसिरहेको भन्दै निन्दा गरेको छ ।

आफूमाथि शारीरिक आक्रमण हुनसक्ने भनेर प्रधानमन्त्री ओलीले दिएको षड्यन्त्रपूर्ण र गैरजिम्मेवारीपूर्ण भएको समेत प्रचण्ड–माधव समूहले ठहर गरेको छ ।

निर्वाचन आयोगको ध्यानाकर्षण

यस्तै, केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

वैठकले २३ गते बोलाइएको संसद बैठकमा कसरी प्रस्तुत हुने र अगाडि कसरी जाने भनेर दलहरुसँग वार्ता र निर्णय गर्ने अधिकार स्थायी कमिटी र सचिवालयलाई दिएको छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि आवाज उठाउनेहरुसँग कुराकानी भइरहेको भन्दै उनले भने, ‘जसले प्रतिनिधिसभा विघटन ग¥यो, त्यो प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्छ ।’

नेतृत्व कसले गर्छ भन्ने प्रश्नमा उनले आपसी परामर्शबाट यसको निर्क्यौल गर्ने बताए । ‘यो संविधान र लोकतन्त्रको रक्षा तथा केपी शर्मा ओलीले गरेको स्वेच्छाचारीको अन्त्यका लागि सबै सकारात्मक पक्षसँग एकतावद्ध भएर जाने हाम्रो प्राथमिकता छ’ उनले भने, ‘यसको अर्थ हो हामी राजनीतिमा खुला छौं ।’

यसैगरी, वैठकमा अध्यक्ष प्रचण्डले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे स्पष्टीकरण समेत दिएका छन् ।

आफूले देशभित्र एकता हुने हो भने चीन, भारत गायत सबैलाई अनुकुल लाग्छ भनेको, तर एउटा देशको प्रसंग मात्र ल्याएर झुटो प्रचार गरिएको उनले बताएका छन् ।