काठमाडौं । बुद्धएयरले धार्मिक पर्यटन क्षेत्र नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।
पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।
बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ ।
प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ । तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो ।
जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।
जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ ।







