फागुन, २८ काठमाडौं । जनता समाजबादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठकले संसदीय दलको नेता चयन गर्ने बुझिएको छ । बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले नेता चयनको तयारी गराएको छ ।
पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।







