काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ ।
रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो ।
पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणालीमार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ ।
रास्वपाले विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट बच्न सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै, सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
विपद् व्यवस्थापनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न रास्वपाले आधिकारिक, राजनीतिक तथा साङ्गठनिक सम्पूर्ण पूर्वनिर्धारित गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ । उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारीपूर्व र्याट संयोजक आशिष थापालाई दिइएको पार्टी महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






