२७ भदौ, काठमाडौं ।
भक्तपुरको निकोसेरामा एकै परिवारका तीन सदस्य मृत भेटिएको विषयमा आमाछोराको हत्यापछि श्रीमानले आत्महत्या गरेकोतर्फ प्रहरीले आशंका गरेको छ । कुहिएको अवस्थामा शुक्रबार साँझ ५ बजे प्रहरीले उनीहरूको शव घरमा भेटेको थियो ।
मृतकमा ३६ वर्षिय सुदीप, ३४ वर्षिया सम्झना र उनीहरूका छोरा १५ वर्षिय सुशान्त अधिकारी छन् । सुदीपका भाइले शुक्रबार प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले घरभित्र तीनै जनाको शव भेटेको थियो ।
पोस्टमार्टमको विस्तृत रिपोर्ट नआइसकेको भए तापनि घटनास्थलको प्रारम्भिक अवस्थाले आमा छोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदीप आफूले आत्महत्या गरेको जस्तो देखिएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार कुकुरलाई पनि विष प्रयोग भएको देखिएको छ ।
शवको प्रकृति हेर्दा झन्डै दुई दिन अघि नै उनीहरूको मृत्यु भइसकेको देखिएको उनले बताए । आमाछोराकोे टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिएको छ भने मृतक सुदीपले बान्ता गरेको जस्तो देखिएको छ ।
छिमेकीहरूका अनुसार पछिल्लो समय परिवारमा तनाव बढ्दो थियो । दिनहुँ श्रीमान–श्रीमती र छोराबीच झगडा भइरहेको सुनिन्थ्यो ।







