के प्रधानमन्त्री ओली झस्केका हुन् ?

चैत, २ काठमाडौं । २३ फागुनमा सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि अव देश र नेकपाको राजनीति कता मोडिन्छ भन्ने धेरैले चासो देखाएका थिए ।

पार्टी विभाजनसँगै आ–आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड–माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही पुगेका थिएनन् ।

दुई वटा पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सर्बोच्चले खारेज गरेर व्युत्याइदिएपछि एमालेमै फर्किएर असन्तुष्ट समूह(माधव नेपाल)ले समानान्तर कमिटी गठन समेत गरिसकेको छ । असन्तुष्ट समूहले केपी ओलीको कदमको विषयमा एमालेमै फर्कीएपछि पनि विरोध जनाइरहेका छन् ।

लामो समयदेखि एमाले पार्टी कार्यालय धुम्बाराही नटेकेका माधव नेपाल समूह आज पहिलो पटक पार्टी कार्यालय पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट समूहलाई छलफलका लागि एकाएक पार्टी कार्यालयमा छलफलका लागि बोलाउनुलाई अर्थपूर्ण ढंगबाटसमेत हेरिएको छ ।

ओलीले एकाएक नेपाल समूहलाई छलफलमा बोलाउनुलाई ओली सरकार ढल्ने सम्भावना देखेर झस्केका हुन सक्ने विश्लेषण गर्न थालिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी(जसपा) सरकार बनाउन सहमति भएको संकेत पाएपछि ओलीले छलफलका लागि बोलाएको हुन सक्ने टिप्पणी उठ्न थालेको छ ।

एमालेमा देखिएको विवाद समाधानका लागि भन्दै ओलीले छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरु अहिले धुम्बाराही पुगेका छन् ।