चैत,३ काठमाडौ।सर्वोच्चको फैसलापछि ब्यूँतिएको एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका पदाधिकारीलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जिम्मेवारीविहीन बनाएपछि माधवकुमार नेपाल समूह समानान्तर कमिटी निर्माण जुटेको छ ।
सोही अनुसार बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमार्फत भोलिदेखि सुरु हुने कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएकाले भेलामा सहभागी हुने नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।
भोलिदेखि सुरु हुने भेलामा केन्द्रीय टोलीले वर्तमान राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची रहेको भट्टराईले जानकारी दिए ।पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भेलामा देशभरबाट दुई हजार नेता कार्यकर्ता सहभागी हुने बताए ।
‘दुई हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुनुहुनेछ । हामीले त्यसरी नै तयारी गरेका छौं’ उनले भने ।
साथै उनले अनावश्यक बोलेर कार्यकर्ता तर्साउने काम नगर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
‘कारबाही नै गर्ने हो भने पहिलो भागिदार उहाँ आफैं हुनुहुन्छ । अस्ति २८ गते विधान विपरीत गएर जुन निर्णय गर्नुभयो त्यसको कारबाही उहाँले नै भोग्नुपर्छ’, नेता पाण्डेले भने, ‘अहिले भेलामा आउने नेता कार्यकर्तालाई तर्साउन खोजेर केही हुनेवाला छैन ।’
साथै उनले पार्टी फुटको दिशामा अध्यक्ष ओली आफैंले सुरुवात गरेको आरोप लगाए ।
‘हामीलाई पार्टी फुटाउन खोजेको आरोप लगाउनुअघि उहाँले आफूले गरेका गल्ती हेर्नुभए पुग्छ । एकलौटी गुटको भेला गर्दै निर्णय गर्ने र हामीलाई पाखा लगाउने खोज्ने अहिले पार्टी फुटाउन खोजे भन्ने आरोप लगाएर हुन्छ’, उनले भने ।







