२७ भदौ, काठमाडौं ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति दिने तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा यस्तो सहमति भएको स्रोतले जनाएको छ ।

घिसिङको कार्यकाल आइतबार समाप्त हुँदैछ । सोही दिन वा सोमबार नियमित मन्त्रीपरिषद्को बैठकमार्फत निर्णय गरी उनैलाई पद दिने तयारीमा सरकार देखिएको छ । पछिल्लो समय उनले वर्षौंदेखि नेपालीको समस्या रहेको लोडशेडिङ औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेका थिए ।
घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान उनको भूमिकाको प्रशंसा हुँदै आएको छ । लोकप्रियताको चुलीमा पुगेका घिसिङलाई नै फेरि कार्यकारी निर्देशकमा नियुक्ति दिनुपर्ने माग सार्वजनिक स्तरबाट उठिरहेको थियो । उनले लोडशेडिङ हट्नुको श्रेय आफू मात्र नभइ वर्तमान उर्जामन्त्री र प्रधानमन्त्रीलाई समेत दिनुपर्ने बताउँदै आएका छन् ।
झन्डै तीन साता अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि प्रधानमन्त्री घिसिङको नियुक्तिको विषयलाई लिएर सकारात्मक देखिएका थिए ।






