चैत, १४ काठमाडौं । पूर्व खानेपानीमन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छिन्।
मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी उनले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी ह्न । सो अवसरमा उनले सञ्चारकर्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”
मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबार उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौँका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।
आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।







