चैत, १७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समितिबीच मंगलबारदेखि वार्ता शुरु भएको छ ।
गृह मन्त्रालयमा मंगलबार भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार आजको वार्ता बिहीबार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ ।
गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी छन् ।
आन्दोलनरत पक्षले टिकापुर घटनामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ ।







