काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा ती शव फेला परेका हुन्।
प्रहरीका अनुसार मृतकमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका र ७ बालक छन्। थप ५० जनाको पहिचान खुल्न सकेको छैन।
जिल्लागत विवरणअनुसार रसुवामा दुई पुरुषको शव फेला परेको छ। नुवाकोटमा चार महिला, छ पुरुष र पहिचान नखुलेका दुई जनासहित १२ जनाको शव भेटिएको छ।
त्यस्तै, धादिङमा नौ महिला, ११ पुरुष, एक बालिका र पहिचान नखुलेका छ जनासहित २७ जनाको शव फेला परेको छ। गोरखामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका सात जनासहित २० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी चितवनमा ६९ जनाको शव फेला परेको छ। त्यहाँ १५ महिला, १९ पुरुष, दुई बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ।
तनहुँमा एक महिला, छ पुरुष, एक बालिका र एक बालक गरी नौ जनाको शव फेला परेको छ। पूर्वी नवलपरासीमा छ महिला, १५ पुरुष, चार बालिका, एक बालक र पहिचान नखुलेका छ जनासहित ३२ जनाको शव भेटिएको छ। नवलपरासी पश्चिममा समेत ६ जनाको शव फेला परेको पछिल्लो विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।







