२८ भाद्र, काठमाडौं ।
पूर्वराजाहरूले प्रयोग गर्ने गरेको विमान अब सर्वसाधारणले नारायणहिटीमा अवलोकन गर्न पाउने भएका छन् । शनिबार राति त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा थन्किएको विमानलाई नेपाली सेनाले पुरानो दरबारसम्म लगेको हो ।
विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार यो विमान राख्न गतवर्ष नै अनुमति दिइएको थियो । त्यसैले गए राति सेनाले काठमाडौंको मुख्य सडक हुँदै नारायणहिटीसम्म पुर्याएको हो । यस विमानको नाम ‘एभ्रो’ रहेको बताइएको छ ।
गए राति नेपाली सेनाले तीनकुने, बानेश्वरको सडक हुँदै यस विमानलाई नारायणहिटी लगेको थियो । विमानका दुवैतिरका पङ्खा निकालेर अगाडि एउटा गाडीले डोर्याउँदै संग्राहलयसम्म लगिएको हो ।
वि.सं. २०३१ सालमा नेपाल ल्याइएको यो विमान स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गर्ने गरेका थिए । यसलाई अब संग्राहलयभित्र ‘बदामचौर’ मा राखिनेछ ।








