वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

चैत, २५ काठमाडौं । वाग्मती प्रदेशसभाको मंगलबारको बैठक शुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे । उनले सरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र योजनाको बाँडफाँट गरी प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाए ।

सरकारले एक पक्ष ढङ्गबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने भनि आह्वान गरिएको बोलपत्र नाजायज भएको र सो बोलपत्र तत्काल सरकारले नै रद्द गर्नुपर्ने उनको माग थियो । प्रदेशसभाका सभामुखले पनि सरकारको दबाबमा परेर अविश्वासको प्रस्तावमाथि तलफल गर्ने वातावरण सिर्जना गर्न नसक्नुभएको बताउँदै नेता कट्टेलले प्रदेशसभाको विभिन्न समिति र कार्यपरामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षलाई सूचनासमेत नदिएर छलफल अगाडि बढाएकोप्रति दुःख व्यक्त गरे ।

उनले संसद्मा पेश गरिएको अविश्वासको प्रस्ताव छलफलमा ल्याउन माग गर्दै आफ्नो दलको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताए । नेता जम्मकट्टेलले आफ्नो मन्तव्य सकिनेबित्तिकै उनका दलका प्रदेशसभाका सांसदले आ–आफ्नो आसनबाट उठेर बैठकको विरोध गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले चैत २५ गते दिउँसो ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरका थिए ।