भदौ २८, काठमाडौं ।
उपभोक्ताबाट ठगी गरेको भन्दै एनसेललाई दूरसञ्चार प्राधिकरणले स्पष्टिकरण मागेको छ । ग्राहकको स्वीकृति बेगर सवा अर्ब रूपैयाँ विभिन्न प्याक र सेवाका नाममा ठगी गरेको भन्दै स्पष्टिकरण माग गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलले सेवाग्राहीसँग स्वीकृति नलिइ नै विभिन्न ‘प्याक’ नवीकरण गरेको भेटिएको छ । तर भदौ १९ मै सोधिएको स्पष्टिकरणको जवाफ अहिलेसम्म दिइएको छैन ।
कोरोना संक्रमणका कारण आफ्ना कर्मचारी घरमा रहेको कारण देखाउँदै तीन दिनको समय पर्याप्त नभएको एनसेलले जनाएको छ । एनसेलको यस जवाफपछि एक साताको समय थप गरिदिएको प्राधिकरणका अध्यक्ष खनालले बताए ।
सेवाहरू स्वतः नवीकरण गर्न नमिल्ने भनेर गरिएको निर्णय विपरीत एनसेलले त्यसो गरेको र सेवाग्राहीबाट एक अर्ब दुई करोडभन्दा बढी रकम असुलेको भेटिएको छ । अध्ययनका क्रममा प्राधिकरणले सेवाग्राहीले सेवा बन्द गर्दासमेत बन्द नहुने गरेको र फेरि नवीकरण भइरहने भेटिएको जनाएको छ ।







