भदौ २९, दोलखा ।
जिल्लाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलुकमा संक्रमितको अवस्था बढ्दै गइरहेको सन्दर्भमा सबैको बिमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ईश्वचन्द्र पोखरेलले जानकारी दिए ।
व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा बिमा गरिनेछ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसंख्याको ४८ प्रतिशत नागरिकको बिमा गर्ने योजना छ ।
त्यहाँको कूल जनसंख्या २५ हजार छ । जसमध्ये १२ हजारको पहिलो चरणमा बिमा गरिनेछ । सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रम अन्तर्गतको ९ लाख रूपैयाँ खर्चेर बिमा गर्ने गाउँपालिकाको तयारी छ ।
अध्यक्ष पोखरेलले भने, ‘सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बिमा गर्छौं ।’ उक्त गाउँपालिकामा हालसम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।
(रासस)







