भदौ २९, काठमाडौं ।
चिकित्सा क्षेत्र सुधारका पक्षधर डाक्टर गोविन्द केसीले जुम्लामा सोमबारदेखि अनसन सुरु गरेका छन् । विभिन्न ६ बँुदे माग राख्दै दिउँसो २ बजेदेखि उनले अनसन सुरु गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन उनको पहिलो माग छ । यसैगरी सुरक्षित दुरी कायम राखेर मास्कको प्रयोग र पिसिआर जाँचलाई व्यापकता दिइ निषेधाज्ञा तथा लकडाउन अन्त्य हुनुपर्ने उनको माग छ । कोरोना तथा अन्य सबै बिरामीहरूको उचित उपचार हुनुपर्ने समेत उनले माग गरेका छन् ।
राज्य लक्ष्मी गोल्छा घूस काण्ड, आयल निगम जग्गा घोटाला प्रकरण, वाइड बडि र सेक्युरिटि प्रेस खरिद प्रकरणको छानबिन हुनुपर्ने माग समेत अघि सारेका छन् । यसका साथै बालुवाटार जग्गा प्रकरण, ओम्नी समुहसँग विभिन्न समयमा सम्झौता तथा ठेक्काका विषयमा समेत छानबिन र अपराधीलाई कारवाही हुनुपर्ने केसीको माग छ ।
उनले सत्ताको इशारामा यी यस्ता भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप समेत लगाएका छन् । कारवाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै उनले अख्तियारका आयुक्त, पूर्वआयुक्तहरूमाथि समेत छानबिनको माग गरेका छन् ।
यस अघि उनीसँग भएका सम्झौता कार्यान्वयनका लागि समेत उनले सरकारसँग माग गरेका छन् । साथै अछामको बयलपाटा अस्पताललाई आवश्यक बजेट दिइनुपर्ने केसीको माग छ ।







