आफूखुशी राहत नबाँड्न बाह्रबिसे नगरपालिकाको अपिल

भदौ ३०, सिन्धुपाल्चोक ।

घुम्थाङ भिरखर्क–नागपुजे पहिरोपीडितका लागि दाताहरूले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ ।

स्वास्थ्य र सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै उक्त नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘पीडितको घाउमा राहतको मलमपट्टी लिएर आउनुहुने दातालाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका छौं,’ प्रमुख शेर्पाले भने ।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनको भनाइ छ । ‘परिस्थिति अलि जटिल छ, राहत सामग्रीसँगै पहिरोपीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागि अपिल गरेका हौं,’ उनले भनिन् ।

बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ । आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १७ जना अझै हराइरहेका छन् ।
(रासस)